रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द रहेको रसुवागढी नाका गएको शनिबारदेखि खुला भएसँगै २६ पर्यटक नेपाल भित्रिएका हुन् ।
अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका छन् । ती चिनियाँ पर्यटक काठमाडौंका लागि प्रस्थान गरिसकेका छन् । नेपालबाट पनि आइतबार पाँच चिनियाँ पर्यटक मितेरीबाट केरुङतर्फ गएका छन् ।
यस्तै, केरुङ घुम्नका लागि शनिबार र आइतबार गरी १०६ नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ ।
सीमाक्षेत्रमा बसोबास गर्ने नेपाली चीनको केरुङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ । करिब ५०६ जनाले नवीकरण गराइसकेको र नवीकरणका लागि दैनिक ठूलो संख्यामा रसुवावासी अध्यागमन कार्यालयमा आउने गरेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक खेमराज खड्काले बताए ।
केरुङमा हाल मालवाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र भएका रसुवावासी मात्र जान पाउने बताइएको छ ।
केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । रासस