प्रधानमन्त्रीलाई गगनको सुझाव : एमालेसँगको सहकार्य आवश्यक छ, संवाद गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग पनि संवाद गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय सरकारमा एमाले पनि रहेकाले एमालेसँगको संवाद र सहकार्य आवश्यक रहेको बताए ।

“म त प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, उहाँले कांग्रेस, समाजवादी, माओवादी गठबन्धनमा रहेका दलमात्र होइन, प्रमुख प्रतिपक्ष दलसँग कम्तिमा अफ्ठ्यारोको बेलामा यसरी जाऔँ, यसरी गरौँ । किनकि, स्थानीय सरकार त नेकपा (एमाले)को पनि छ नि त,” उनले भने, “कतिपय ठाउँमा प्रदेशमा हामी सँगै मिलेर काम गर्नुपर्नेछ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग त बसेर संवाद गर्नुपर्ने भएको छ ।”

त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंकका बीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए ।

“यतिखेर सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि, एकअर्काको परिपूरकको जस्तो सम्बन्ध हुनुपर्छ । सरकारले पनि राष्ट्र बैंकको नेतृत्वलाई त्यही हिसाबले, राष्ट्र बैंकको नेतृत्वले पनि सरकारलाई को सरकारमा छ, कहाँबाट को आएको छ भन्ने आँखाले होइन, यो बेलामा विश्वसनीय सम्बन्ध पनि हुनुपर्छ,” उनले भने, “पारदर्शी हुनुपर्छ । एकअर्काको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्‍यो ।”

महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरे । उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यकबाहेकको खर्चलाई घटाउनुपर्ने बताए ।

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे । सरकार दौडिन सुरु गर्नुपर्नेमा जोड दिँदै थापाले आगामी ५/६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न सुरु गर्‍यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए ।

Share post:

Recent