काठमाडौं । करिम बेन्जेमाले ह्याट्रिक गरेको खेलमा रियल मड्रिडले बुधबार राति ‘एल क्लासिको’मा चीरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० तथा समग्रमा ४–१ ले हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ ।
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना पहिलो लेगमा १–० ले आगाडि थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा उक्त अग्रता जोगाउन सकेन । रियालले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । जारी सिजन यो चौथो ‘एल क्लासिको’ खेल हो । यसअघिका तीन खेलमा बार्सिलोना विजयी भएको थियो ।
बेन्जेमा नाउ क्याम्पमा १९६३ पछि ‘एल क्लासिको’मा ह्याट्रिक गर्ने रियालका पहिलो खेलाडी बने । १९६३ मा फेरेन्क पुस्कासले गोल गरेका थिए ।
पाहुना टोली रियालले भिनिसियस जुयिनरको गोलबाट पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । ५०औँ मिनेटमा बेन्जेमाले रियालको अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा दोस्रो गोल गरेका बेन्जेमाले ८०औँ मिनेटमा ह्याट्रिक गरेका थिए । बेन्जेमाले अघिल्लो खेल लिगमा रियाल भालाडोलिडलाई ६–० ले हराउँदा पनि ह्याट्रिक गरेका थिए ।