विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा बजार क्षेत्रमा पार्किङ पूर्ण रूपले निषेध गर्दा व्यापारमा प्रतिकूल असर परेको जनाएको छ ।
व्यावहारिक र पर्याप्त स्थानको विकल्पबिनै पार्किङ निषेध गर्दा स्थानीय व्यवसायी र आमसर्वसाधारण समस्यामा परेको संघको भनाइ छ ।
“व्यापार/व्यवसाय ठप्प हुँदै व्यवसायीहरूमा उत्पन्न त्रासपूर्ण वातावरणका कारण यस ऐतिहासिक बजारको अस्तित्वमै प्रश्नचिह्न खडा हुन गएको छ,” संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरे ।
संघले विगतमा विराटनगर महानगरपालिकालाई पछिल्लो पार्किङ नीतिबाट सिर्जना हुन सक्ने अवस्थाबारे सचेत गराउँदै समुचित व्यवस्थापनसम्बन्धी सुझाव पेस गरेको थियो । व्यवस्थापनबिनै पार्किङलाई पूर्ण रूपमा निषेधित गर्नु व्यावहारिक नभएको संघको ठहर छ ।