२३ चैत, काठमाडौं । विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरी खेलेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा दुवै गोल खेलको अन्त्यतिर भएको थियो ।
सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।
तर हिमालयनले सम्भावित जितका लागि अग्रता जोगाउन सकेन ।
हार नजिक पुगिसकेको मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा ओभरहेड कि गोल गर्दै खेल बराबरी गरे ।
भुटानी कप्तान चेन्चो ग्याल्सेनले यसै खेलबाट मछिन्द्रका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे ।
जारी लिगमा मछिन्द्रको यो तेस्रो बराबरी हो । ६ खेल खेल्दा १ जित र ३ बराबरीबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औं स्थानमै छ ।
समान खेलबाट ६ अंक नै रहेको हिमालयन गोलअन्तरमा अघि रहँदै १०औं स्थानमा छ ।