बारा । बाराको सुवर्ण गाउँपालिकामा आयोजना आइतबारबाट हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन ।
सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको यज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो ।
गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरुको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक यज्ञ हुन लागेको छ ।
यज्ञको सबै तयारी भएपछि स्थानीय करिब ९० घरपरिवारका दलित समुदायका श्रद्धालुहरुलाई सहभागी हुन बन्चित गरिएको आरोप उजुरीमा लगाइएको छ । ‘यज्ञस्थलको निर्माण कार्यमा दलितहरुलाई श्रमदान गर्न लगाइयो, स्थानीय सुरेन्द्र रामले भने, ‘यज्ञस्थल निर्माण भइसकेपछि अब आइन्दा यज्ञस्थलमा प्रवेश नगर्नु भनेर उर्दी जारी गरिएको छ ।’
उनका अनुसार आयोजकले आफ्ना बालबालिकालाई पनि यज्ञमा नपाउन र उर्दी विपरीत पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको छ । यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलन जस्ता कार्यमा दलित समुदायका मानिसहरुलाई प्रयोग गरिएको थियो ।