सन्दीपविरुद्धको मुद्दामा बहस भएन, डाक्टर झिकाउने इजलासको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि बहस भएन । न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बकपत्रका लागि बोलाउने आदेश दिएको छ ।

आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि इजलासले सुनुवाइ सुरु गरेन । इजलासबाट स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउने आदेश भएको स्रोतले बाह्रखरीलाई जानकारी दिएको हो ।

हालसम्म तीनपटकलाई सुनुवाइको पेसी तोकिएको भए पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । पहिलोपटक चैत १३ गतेलाई अन्तिम सुनुवाइको पेसी तोकिएको भए पनि पूर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

दोस्रोपटक चैत २२ गते सुनुवाइ ‘हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

Share post:

Recent