लिभरपुलसँग बराबरीमा रोकियो आर्सनल

रोबर्टो फिरमिनोले अन्तिम समयमा गोल गरेपछि शीर्ष स्थानको आर्सनल लिभरपुलसँग २-२ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै आर्सनलको शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँगको अग्रता ६ अङ्कमा झरेको छ।

एनफिल्डमा भएको खेलमा पहिलो हाफमानै आर्सनलले दुई गोलको अग्रता लिएको थियो। गाव्रियल मार्टिनेलीले ८औँ मिनेटमानै गोल गर्दै आर्सनललाई अग्रता दिलाए। २८ औँ मिनेटमा गाब्रियल जेससले टिमको अग्रता दोब्बर पार्दै घरेलु टोलीमाथि दबाब बढाएका थिए। मोहम्मद सलाहले ४२ औँ मिनेटमा गोल गर्दै खेललाई पहिलो हाफमा २-१ अवस्थामा पुर्याए।

तर दोस्रो हाफमा खेल नियन्त्रणमा लिएको लिभरपुलले निरन्तर आर्सनलमाथि दबाब बनायो। ५४ औँ मिनेटमा बराबरीको सुन्दर मौका सलाहले चुकाएका थिए। उनले पेनाल्टीमा पाएको अवसर खेर फाल्दा दोस्रो हाफको सुरुवातमानै गोल गर्ने अवसरबाट लिभरपुल वञ्चित भएको थियो। त्यसपछि पनि लिभरपुलले दबाब राखेपनि गोल गर्न भने अन्तिम समय सम्म कुर्नु पर्यो। रोबर्टो फिरमिनोले ८७ औँ मिनेटमा अलेक्जेन्डर अर्नोल्डको क्रसमा आकर्षक हेड गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन।

बराबरीपछि आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ। त्यस्तै लिभरपुल २९ खेलबाट ४४ अङ्कका साथ आठौँ स्थानमा रहेको छ।

Share post:

Recent