काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।
साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको रास्वपाले जनाएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो।
रास्वपाले सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक डाकेको छ।
बैठकमा पार्टी सरकारमा सहभागी हुने नहुनेबारे पनि छलफल हुँदैछ। पार्टी सभापति रवि लामिछानेले चितवनमा उपचुनाव जितेर फेरि संसदमा प्रवेश गरेपछि रास्वपा पनि सरकारमा सहभागी हुने चर्चा छ।
उपचुनावमा तनहुँ १ बाट पनि रास्वपाका स्वर्णिम वाग्ले विजयी भएका छन्। उपचुनावको नतिजापछि पार्टी सभापति लामिछानेले सरकारमा सहभागी हुने नहुनेबारे गम्भीर छलफलपछि निर्णय लिने बताएका थिए।