काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई अरबौँ बाड्नभन्दा आविष्कारमा रकम खर्चन सरकारसँग माग गरेका छन्। औषधीउपचारको नाममा करोडौँ बाड्न सकिन्छ भने अनुसन्धानमा किन रकम नछुट्याउने भनेर उनले सरकारलाई प्रश्न गरेका छन्।
पुनलाई पूर्ण समर्थन गर्न माइतीघर मण्डला पुगेका लिङ्देनले सम्बोधनका क्रममा भने,‘सरकारले आफै अग्रसर भएर गर्नुपर्ने काम, राजनीतिक दलहरुले उठाउनुपर्ने कुरा एउटा व्यक्तिले उठाउनुभएको छ। यो केवल एउटा व्यक्तिको कुरा होइन कुनै एउटा क्षेत्रको कुरा मात्रै होइन एउटा राजनीतिक बिचार आस्था र पार्टीसँग सम्बन्धित कुरा मात्रै होइन अनुसन्धान,नवप्रर्वतन र आविस्कारको कुरा हो, भावी सन्ततीको भविष्यसँग जोडिएको कुरा हो, हाम्रो देशको भविष्यसँग जोडिएको विषय हो।
पुनले सडकसम्म आएर धर्ना बस्नुपरेकोमा लिङदेनले दु:ख व्यक्त गरे। लिङ्देनले थपे,‘उहाँले(पुनले)जतिवेला यो विषय उठाउनुभयो त्यतिवेला नै सरकाले उहाँसँग बोलाएर भन्नुपथ्र्यो यो एउटा देशको लागि सरकारको लागि ठूलो कुरा होइन हामी पुरा गर्छौ, हामीले अस्ति नै यो कुरा गर्नुपथ्र्यो तर हाम्रो ध्यान पुग्न सकेन तपाईले आँखा खोलिदिनुभयो त्यसको लागि धन्यवाद।’
सरकारले जवसम्म पुनको माग पूरा गर्दैन साथ दिने लिङ्देनले प्रतिवद्धता व्यक्त गरेका छन्। कुनै तर्क बाहनामा नटारी माग पूरागर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। ढिला नगरी प्रधानमन्त्रीले आएर पुनसँग सम्झौता गर्न पुनको आग्रह छ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पुनले आन्दोलन थालेयताका रातपनि सडकमै बिताएका छन्। उनले माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने अडान राखेका छन्।
पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी शनिबार माइतीघर मण्डला पुगेका थिए।