एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया कन्सर्ट

नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया सांगीतिक यात्रा सम्पन्न भएको छ।

१० अप्रिलमा मेल्बर्नबाट सुरू भएको अष्ट्रेलिया सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो। ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको छ।

१० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलिया सांगीतिक यात्रामा निस्किएको हो। कन्सर्ट भएको हरेक सहरमा दर्शकको भिड लागेको ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले बताए।

हरेक सहरमा भएको कन्सर्टमा राजु लामाले ‘मेरो नेपाल’ गीतबाट आफ्नो प्रस्तुति सुरू गर्दै ‘बाँदलपारीको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा’ लगायत गीत गाएका थिए।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै सांगीतिक यात्रा टुंग्याएका थिए।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

Previous article
Next article

Share post:

Recent