काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क दिनुपर्ने बताएका छन्।
सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङदेनले श्रमिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्ने बताए।
उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए। उनले सबै श्रमिकलाई सरकारले स्वास्थ्य बिमाको दायरामा ल्याउनुपर्ने पनि बताए।
अध्यक्ष लिङदेनले श्रमिकलाई सूचीकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए।
अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले देशका श्रमिकलाई प्राथमिकतासाथ देशभित्रै कामको अवसर दिनुपर्ने बताए।