काठमाडौँ – काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्।
विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन्।
पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ। मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ।