काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१३, शिवधारास्थित कोसी राजमार्गबाट आज बिहान २२७ किलो ४०० ग्राम गाँजासहित दुईजना पक्राउ परेका छन् ।
धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा आठ वटा पोकामा लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस धरानले गाँजासहित गाडी चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको छथर गाउँपालिका–२ का २८ वर्षीय चुडामणी कटुवाललाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६० हजार नेपाली रुपैयाँ, चार वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।