मोरङ – विराटनगरमा करिब ९० लाख रुपैयाँ बराबरको सुन, चाँदी र भारतीय रुपैयासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार विराटनगर–१५ बाट भारततर्फ सामान लैजाने क्रममा प्रहरीले दुई जना भारतीय र एक जना नेपालीलाई पक्राउ गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ५४ तोला सुन, ८ किलो चाँदीका बिस्कुट र साढे सात लाख भारतीय रुपैयाँ बरामद भएको हो।
प्रहरीका अनुसार भारत बिहार कटिहारका ६१ वर्षीय विनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका साथै सवारी चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत पक्राउ परेका हुन्। पक्राउ परेका विनोद विराटनगरस्थित केएल ग्रुपमा विगत ३ दशकदेखि कार्यरत रहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ नायब निरीक्षक फिरोज चौधरीको टोलीले विराटनगरको रानीबाट भारत जोगबनीतर्फ जाँदै गरेको अवस्थामा को २ च १४९५ नम्बरको भ्यान जाँच गर्दा लुकाइएको सुन, चाँदी र भारती रुपैयाँ फेला परेको हो।
उनीहरुको साथबाट प्रहरीले भारतीय ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बरामद गरेको हो। बरामद भएका सुन, चाँदीका सामग्री, नगद गरी गरी करिब ९० लाख मूल्य बराबरको सामग्री रहेको छ।
बरामद सामग्री र पक्राउ परेका तीन जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।