काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएका छन् । नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा प्रधानमन्त्री सुनकले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदले त्यहाँका राजा चाल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका हुन् । उनी राजा चाल्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका हुन् । सो भेटमा साउदले राज्यारोहण गरेकामा राजा चाल्सलाई बधाई दिए ।
परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले भेटमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो समेत दिइएको जानकारी दिए । उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताए ।
“बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा ‘हुन्छ, म आउँछु, तर अलि ढिला हुन्छ’ भन्नुभयो,” परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने ।
मन्त्री साउद यही वैशाख २१ गते बेलायत गएका हुन् । उनी वैशाख २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।