आरजु राणालाई इंगित गर्दै तोसिमाको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन्।

केही दिन अघि देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन्।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्‍यो। भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ। अपराध भएको छ कारबाही हुनुपर्छ,’ उनले भनिन्।

के भनेकी थिइन् राणाले?

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ। म नभएको दिनमा मेरो नामलाई इंगित गरेर अनेक थरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु,’ प्रतिनिधि सभाको बैठकमा उनले भनेकी थिइन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ। पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने। त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असैह्य हुने। योचाहिँ परिस्थिति बनेको छ। जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्नँ।’

Share post:

Recent