आफैँ थलिएको अस्पताल : न जनशक्ति, न ‍औषधी

मुगु : छोराको गोडामा चोटपटक लागेपछि छायाँनाथ रारा नगरपालिका १३ लुमका गोविन्द विक उपचारका लागि जिल्ला अस्पताल आए तर यहाँको अवस्था देखेर उनी अन्योलमा परे।

अस्पतालमा रहेको एक्सरे मेसिन समेत सञ्चालनमा नहुँदा छोराको अवस्था कस्तो भन्ने समेत थाहा पाउन सकेनन् उनले। यस्तो अवस्थामा यहाँ उपचार हुन्छ–हुँदैन थाहा छैन। ‘छोराको उपचार गर्न बाहिर जाऊँ, पैसा छैन’, उनले भने, ‘यहाँ उपचार हुने वातावरण नै छैन।’

जिल्लाको एक मात्र अस्पताल जो जिल्ला अस्पतालका रूपमा परिचित छ, औषधी र दक्ष जनशक्ति अभावमा आफैँ थलिएको छ।

आफैँ थलिएको अस्पताल : न जनशक्ति, न ‍औषधी

१५ शय्याको यो अस्पतालमा उपचारका लागि मुुगुु जिल्लाभरका र केही हुम्लाका बिरामी पनि उपचारका लागि आउँछन्। तर एक्सरे मेसिन लगायत अत्याधुनिक उपकरण सञ्चालनमा नआउँदा उनीहरू मर्कामा पर्ने गरेका छन्।

सरकारले ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भए पनि अस्पतालमा दिइँदैन। सामान्य औषधी नपाउँदा बिरामी निजी मेडिकलबाट किन्न बाध्य छन्।

कर्णाली प्रदेश मातहतमा रहेको जिल्ला अस्पताल मुगुमा प्रदेश सरकारकै बेवास्ताका कारण यस्तो समस्या भएको देखिन्छ। विशेषज्ञ सेवाका लागि उपलब्ध अक्सिजन प्लान्ट,थाइराइड चेक मेसिन,एक्सरे मेसिन लगायत मेसिन प्रयोगविहीन हुँदा उपचारमा समस्या भएको  चिकित्सक डा.रविन्द्र भट्टराईले बताए।

जिल्ला अस्पताल मुगुमा तीन विशेषज्ञ चिकित्सकर चार जना मेडिकल अधिकृतको दरबन्दी छ। तर अहिले एक जना विशेषज्ञ चिकित्सक एमडी जीपी र अन्य मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन भइरहेको छ। दक्ष प्राविधकको समस्याका कारण उपचारका लागि मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौँ वस्तीका नागरिक अस्पतालबाट पाउर्ने विशेषज्ञ सेवाबाट वञ्चित भएका अस्पतालका निमित्त कार्यालय प्रमुख भुवन पुरीले बताए।

यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको छ। अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ। तर, उपकरण सञ्चालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य भएका नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए।

२०६३ साल फागुन ११ गते  प्रथामिक सेवा केन्द्रलाई स्तरवृद्धि गराई जिल्ला अस्पतालका रूपमा १५ शय्याको अस्पताल बनाइएको थियो।

Share post:

Recent