राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गरेका हुन्।
‘नक्कली शरणार्थी प्ररणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिएँ। भ्रष्टाचारविरुद्धको अभियान हाम्रो पनि हो, जसले नेतृत्व गरे पनि यो सबै पार्टीको साझा दायित्व हो, सबै दल मिलेर यसलाई निष्कर्षमा पुर्याउनुपर्छ। प्रधानमन्त्रीज्यू दह्रोसँग अनुसन्धान गर्नुहोस् भनेर दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहन्छ भनेर विश्वास दिलाएँ,’ सभापति लामिछानेले।
प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर त्यसबारे पनि जिज्ञासा राखेको उनले बताए।
‘प्रधानमन्त्री उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ । उहाँ निकै खुसी हुनुहुन्छ,’ सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्याउने हुटहुटी नै पाएँ।’
सरकार ढल्छ भनेर चिन्ता नगर्नुस्
प्रधानमन्त्रीलाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछानेको भनाइ थियो।
यस प्रकरणलाई निष्कर्षमा पुर्याउँदा सरकार ढल्छ, समर्थन गुम्छ भने पनि तयार रहन र पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा नयाँ मानक स्थापित गर्न आफूले सल्लाह–सुझाव दिएको र जवाफमा प्रधानमन्त्री सकारात्मक पाएको उनले बताए।
‘नक्कली शरणार्थी प्रकरणमा उहाँ रोकिनुहुन्न।
प्रहरी प्रशासनलाई हस्तक्षेप नहोस्
गृह प्रशासनको नेतृत्वसमेत सम्हालेको सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका फाइल खोल्ने सबालमा प्रहरी प्रशासनलाई कुनै पनि हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराएको बताए।
‘यस प्रकरणमा प्रहरी प्रशासनले आफ्नो ढंगले अनुसन्धान नहोस्, राजनीतिक हस्तक्षेप, प्रभाव नहोस् भनेर भनें,’ लामिछानेले भने, ‘प्रधानमन्त्रीको हुटहुटी हेर्दा त्यसको छनक छैन। उहाँ एकदमै उत्साहित हुनुहुन्छ।’
तीन दलको मात्रै बैठक नबस्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार भइरहेको भेटप्रति पनि आफूले जिज्ञासा राखेको सभापति लामिछानेले बताए।
‘तपाईंहरू तीन दल बसिरहनु भएको छ, दिनहुँजसो। देशको सवालमा हो भने अर्को चौथो दल पनि छ। हामीलाई पनि सँगै राख्नुहोस्। देशका महत्त्वपूर्ण सवालमा हामीलाई किन छुटाउनुहुन्छ? भनेर सोधेँ, जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ उनले भने।