दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका– ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा बिहानैदेखि आन्दोलन गरेका हुन्।
पीडितले घटनाको सत्यतथ्य छानबिन तथा क्षतिपूर्तिको माग राखेका छन्। मृतकको क्षतिपूर्तिबापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने तथा यसप्रकारका कमी–कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने, मृतकको शरीरको सबै अंग परीक्षण हुनुपर्ने माग राखेका छन्।
उपचारमा संलग्न डाक्टर र नर्सहरूले सुत्केरीको अवस्थाबारे आफन्तहरूलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आइसियूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएकोसमेत आरोप लगाएका छन्। सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो।