काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्। शनिबार काठमाडौंको पेरिस डाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन्।
उनले यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताए।
उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत वैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरे। उनले अहिलेसम्म नेताहरुले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताए
उनले नेपालका राजनीतिज्ञभन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताए।
उनले भने, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ। लिगल्ली रुपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ। एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ। ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ। ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ। मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने। दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा यहाँ अब अमेरिकी सेना छिट्टै आउँदै छन्।’
व्यवसायी प्रसाईंले जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए।