१ जेठ, काठमाडौं । गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो, संयोगले त्यसको एक वर्षपछि आज १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको छ । पी–१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल हो ।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
सवारी दर्ता भएर नम्बर प्लेट र ब्लुबुक पाएपछि यात्रीले एक वर्षको बीचमा ‘पी–१’ देखि ‘स्पेसल सिरिज–१’सम्मको यात्रालाई स्मरण गरेको छ । ‘हामीसँग यो इतिहास रच्नका मद्दत गर्ने हाम्रा विशेष प्रयोगकर्ताहरूप्रति सधैं कृतज्ञ छौं,’ यात्रीले भनेको छ । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।
यसअघि नेपालमा हुलास मोर्टसले बनाएका ‘मुस्ताङ’ लगायतका सवारीको च्याचिसलगायतका पार्ट विदेशबाट आयात गरी सोही प्रज्ञापनपत्र (एलसी)का आधारमा नेपालमा दर्ता हुन दिइएको थियो । यसअनुसार नेपालमा बनेपनि ती सवारीको दर्ता भन्सार प्रज्ञापनपत्रकै आधारमा हुन्थ्यो ।