काठमाडौं : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारको जवाफ माग गरेका हुन्।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्याएको हो भन्ने जवाफ दिनुपर्ने बताए। सांसद शर्माले सरकारले नक्कली भूटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिए।
‘नक्कली भूटानी शरणार्थी प्रकरणबारे हामी सुसुचित हुन जरुरी छ। दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नफसुन भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ, यसमा गृहमन्त्रीज्युको भनाइ हामीले सुन्न पाएका छैनौँ’, उनले भने, ‘के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ।’
सांसद शर्माले नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।