काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सीएसआर) को रकम खेलमा प्रयोग गर्नका लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छन् ।
अध्यक्ष चौधरीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँगको भेटवार्तामा सीएसआरको रकम प्रयोगमा ल्याउन र त्यसलाई खेल क्षेत्रमा प्रयोग गर्न सक्ने सकारात्मक प्रभावहरूको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन् ।
भेटवार्ताका क्रममा अध्यक्ष चौधरीले एनएसएलले नेपाली खेल क्षेत्रमा नीजि क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने माध्यम बन्दै नेपाली खेल क्षेत्रलाई थप व्यवसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बताइन् ।
अध्यक्ष चौधरीले नेपाली खेलकुद क्षेत्रले सीमित स्रोत, साधन र लगानीमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको कारण सीएसआरलाई खेलको प्रोत्साहनमा लगाउन पाइने नियम लागु भए यसबाट समग्र खेलक्षेत्र उकास्न सहयोगी सावित हुने बताइन् ।
यसैकारण चौधरीले व्यवसायको सामाजिक उत्तरदायित्वमा विनियोजित रकमलाई खेलकुद क्षेत्रमा पनि लगानी गर्न पाउने नियम लागु गर्ने निर्णय गराउन प्रधानमन्त्रीलाई आग्रह गरिन् ।
छलफलमा अध्यक्ष चौधरीसँगै नेपाल सुपर लिगका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र सीईओ सुदीप शर्माको पनि उपस्थिति थियो ।