विवादित इन्स्पेक्टर पोखरेल : बढुवा खान तिब्र दौडधुप

काठमाडौं । सम्भवतः १/२ दिनभित्रैमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नायब उपरीक्षक (डिएसपी) बढुवा निस्किन्छ । बढुवाको लागि ९ चैत २०७० मा भर्ना भएका एक सय ४४ जना इन्स्पेक्टरहरु दौडमा छन् । प्रत्यासीहरुमध्ये कोही काबिल अफिसर छन् भने कोहीले संगठनमा बद्नाम अधिकृतको उपमा पाएका छन् ।
उक्त ब्याचमा सबैभन्दा बढी बद्नाम अधिकृतको रुपमा चिनिएकी छन् इन्स्पेक्टर चेतना पोखरेल । पोखरेल प्रहरी प्रभाग पुल्चोकको प्रमुख हुँदा पनि तत्कालिन कमाण्डरसँग ‘मुखमुखै लागेको’ आरोपमा विवादमा तानिएकी अधिकृत हुन् । अहिले उनै पोखरेल राजनीतिक पहुँचको आधारमा डिएसपी हुने दौडमा छिन् ।
करिब चार वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत पोखरेल अहिले सबैभन्दा बढी शक्तिकेन्द्र धाउने अफिसर हुन् । प्रहरी प्रधान कार्यालयले बढुवा तयारी गरेसँगै १५८ औं समूहकी पोखरेलले शक्तिकेन्द्र रिझाउन तिब्र दौडधुप गरिरहेको स्रोत बताउँछ । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई र महान्यायाधीवक्ता डा. दिनमणी पोखरेलमार्फत उनले हस्तक्षेप बढाएको स्रोतको दाबी छ ।
उनले पहिलो नम्बरमा बढुवा हुने भन्दै हिँड्ने समेत गरेकी छन् । तालिम सकेर पास आउट हुँदा २५ नम्बरमा रहेकी उनको दौड देखेर ब्याचमेटहरु नै चकित परेका छन् । २०७७ मा पारिवारिक नाता जोडेर उनै पोखरेलले तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत राष्ट्रपतिबाट पाउने मेडल समेत पाएकी थिइन् । प्रधान कार्यालयको सिफारिस बिना नै मेडल पाएपछि त्यतिबेला उनको चर्को आलोचना समेत भएको थियो ।
विवादित अधिकृतको रुपमा चिनिएकी पोखरेलमाथि कमाण्डिङ क्षमता कमजोर रहेको आरोप समेत लाग्ने गरेको छ । रियल पुलिसिङ गर्न नसक्ने पोखरेल अख्तियारमै रहँदा पनि धेरैपटक विवादमा आइसकेकी छिन् । कुनैबेला उनीसँग मात्र हुने अख्तियारको परिचयपत्र होटलमा फेला परेको बिषयले समेत उनी विवादमा आएकी थिइन् । जतिबेला होटलमा उजुरीमा डिल गर्न जाने क्रममा उनको कार्ड छोडिएको चर्चा थियो ।
लामो समयसम्म अख्तियारमै रहेकी पोखरेलको प्रधान कार्यालयले राजनीतिक पहुँच र उच्चपदस्थ प्रहरी अधिकृतहरु समेतको दबाबमा सरुवा गर्न नसकेको बताइन्छ । उनी आफूमात्र होइन, आफ्नो पहुँच प्रयोग गर्दै अरुको सरुवा समेत थमौती गर्ने हैसियत राख्ने गर्छिन् । त्यस्तै पोखरेलले नेताहरुमात्रै नभएर प्रहरीकै हाकिमहरुको समेत चाकडी गर्ने गरेको पाइएको छ ।
अहिलेको अवस्थामा उनी आईजी, एआईजी र डिआईजीहरुलाई समेत भेट्ने गरेकी छिन् । तर, संगठन प्रमुख बसन्त बहादुर कुँवर योपटक कार्य सम्पादन मूल्यांकन, बरियता, शैक्षिक योग्यता, तालिम, दुर्गममा काम गरेको अनुभुव, पुरस्कार पाएको जस्ता कुरालाई आधार मानेर बढुवा गर्ने तयारीमा छन् । जसले गर्दा काबिल अफिसरहरुको मनोबल बढ्नेछ र आम जनमानसमा समेत प्रहरीप्रतिको विश्वास बढ्नेछ ।

Share post:

Recent