प्रहरी कुनै षड्यन्त्रको शिकार भएको छैन : गृहमन्त्री श्रेष्ठ

११ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्‍याउने काम गर्न मिल्दैन ।’

दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन ।’

Share post:

Recent