काठमाडौं । निर्देशक अनुराग कश्यपको फिल्म ‘केनेडी’ले कान्स फिल्म फेस्टिभलमा सात मिनेट ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । यो फिल्म फ्रान्सको स्थानीय समयअनुसार बिहीबार बिहान सवा १२ बजे द ग्रान्ड लुमियर थिएटरमा मिडनाइट स्क्रिनिङ श्रेणीमा देखाइएको थियो । फिल्मको प्रदर्शन सकिएपछि दर्शकले उठेर सात मिनेटसम्म प्रशंसा गरेका थिए ।
फिल्मको कथा एक प्रहरी अफिसरमा आधारित छ, जो अनिद्राको समस्याबाट पीडित छन् । उनी विभिन्न देशको बीचमा आफूलाई खोजिरहेका हुन्छन् । आफ्नो फिल्मको स्क्रिनिङबारे सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक अनुराग कश्यपले भने, ‘कान्सजस्ता फिल्म फेस्टिभलमा आफ्नो फिल्मलाई विश्वसामु प्रस्तुत गर्न पाउनु विशेष कुरा हो । द ग्रान्ड लुमिएर थिएटरमा मेरो फिल्म स्क्रिनिङ हेर्न पाउनु मेरो लागि जीवनभरको उपलब्धि हो ।’
अभिनेता राहुल भट्टले फिल्मको स्क्रिनिङमा आफ्नो मेहनतले माया पाएको बताए । ‘फिल्मको सम्पूर्ण समयमा तपाईं स्क्रिनमा टाँसिएको हुनुहुन्छ । म सबैलाई धन्यवाद दिन्छु । विशेषगरी अनुराग जसले धेरै मेहनत गर्नुभएको छ, हाम्रो सम्पूर्ण टोलीले कडा मेहनत गरेको छ र हामी आज कान्सको प्रतिष्ठित रेड कार्पेटमा पुगेका छौं ।’
कान्स रेडकार्पेटमा अभिनेत्री लियोनी सारी लगाएर निर्देशक कश्यपसँगै सहभागी भइन् ।