काठमाडौं । बिहीबार रातिदेखि प्रसारण सुरु भएको टिभी सिरियल ‘सक्किगो नि’ सिजन–३ को पहिलो एपिसोडमा दर्शकले केही नयाँ स्वाद चाखे । यसमा कमेडी मात्र थिएन मर्मस्पर्शी सन्देश पनि थियो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।
सिरियलको अन्तिम दृश्य निकै शक्तिशाली लाग्छ । जहाँ बिरामीहरुलाई अस्पतालको शय्यामा सिक्रीले बाँधेर राखिएको छ । उपचारबापत शुल्क तिर्न नसक्ने नागरिकलाई अस्पतालले कसरी बन्धक बनाएर राखेका छन् भन्ने यथार्थलाई यसमा देखाइएको छ । जुन दृश्यमा डायलग भनिएको छ, ‘कतै हाम्रा अस्पतालहरु जेल त बनिरहेका छैनन् ? सरकार जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’
नेताहरु सामान्य बिरामी हुँदा पनि सिंगापुर र भारतका अस्पतालमा धाउने गरेको भन्दै कटाक्ष पनि गरिएको छ ।
यसबारे अनलाइनखबरसँग कुरा गर्दै सिरिज निर्देशक कुमार कट्टेलले नयाँ सिजनमा कमेडीसँगै नागरिकले भोगेका दुःख, आर्तनाद र पीडालाई पनि समावेश गरिने बताए । ‘पात्रहरु यसपटक मच्योर्ड भएका छन् । उनीहरु आवरा र लफंगा मात्र यसपटक छैनन्,’ उनले भने । अर्जुन घिमिरेसँग मिलेर उनले सिरिज निर्देशन गरेका छन् ।