डेंगीको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए ।
चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँ डेंगीको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएका मध्ये हालसम्म ५३ जनामा डेंगीको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए ।
५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ठेगना नखुलेका ६ र जिल्लाबाहिरका १७ जना रहेका उनले जानकारी दिए ।
चितवनका ३० जनामा डेंगीको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेंगीका कारण चितवनमा ६ जनाको मृत्यु भएको थियो । त्यसमध्ये चारजना चितवनका थिए ।