बलात्कार आरोपमा युवा संघका नगर अध्यक्ष पक्राउ

विराटनगर । बलात्कारको आरोपमा नेकपा (एमाले)निकट युवा संघका बेलबारी नगर अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।

२० वर्षीया युवतीको बलात्कार गरेको आरोपमा ३४ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पीडित भनिएकी युवतीले तामाङले आफूमाथि बलात्कार गरेको आरोपसहित किटानी जाहेरी दिएकी छन् । मोरङका प्रहरी प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले भने, “घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेका छौँ ।”

तामाङ मोरङको बेलबारी नगरपालिका–१० निवासी हुन् । गएको बिहीबार प्रहरीले उनलाई पक्राउ गरेको हो । बलात्कारको घटना गएको असार २ गते भएको बताइएको छ ।

रेस्टुरेन्ट सञ्चालक रहेका तामाङले त्यहीँ आफ्नो बलात्कार गरेको युवतीको आरोप छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Share post:

Recent