बाल सुधारगृह मृत्युस्थल बन्न थाल्योः सांसद डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले बाल सुधारगृह मृत्युको थलो बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कमल बस्नेतको मृत्युले भक्तपुरको बाल सुधारगृहको अवस्था बिथोलिएको भन्दै सुधारको आवश्यकता औंल्याएकी हुन्।

‘१८ वर्षीय कमल बस्नेतको मृत्युपश्चात् भक्तपुर बाल सुधारगृहका बालबालिका तोडफोड गरेर भागेको घटनाले सामाजिक सञ्जाल तातेको छ। हुन त यो एउटा प्रतिनिधि घटना मात्र हो,’ उनले भनिन्, ‘१८ वर्ष भन्दामुनिका बालबालिकाले कानुनविपरीतको कार्य गर्छन् भने त्यसलाई अपराध नभनेर बालबिजाइँ भनिन्छ। त्यस्ता बालबलिकाको सुधार, विकास र पुनःस्थापनाका निम्ति राखिएका घर नै जब मृत्यु थलो बन्छ भने त्यहाँका बालक सुध्रिन्छन् कि विद्रोही बन्छन्?’

उनले बस्नेत मृत्यु प्रकरणको वास्तविकता सार्वजनिक गर्न पनि माग गरिन्। सुधारगृहमा राखिएका बालबालिकाले न्यून रकम पाउने र त्यो रकम पोषणका लागि पर्याप्त नहुने बताइन्।

‘सुधारगृहका बालबालिकाले पाउने रकम भनेको १०० रुपैयाँ हो, के आउँछ त्यति पैसाले? कसरी हुन्छ त्यो बालकको पौष्टिक विकास?,’ उनले भनिन्।

उनले सुधार गृह नै सुधार गर्नुपर्ने खाँचो रहेको पनि औंल्याइन्।

Share post:

Recent