राटनगर । आज विराटनगरमा ५५ औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिदैछ । विश्वव्यापी महामारीका कारण लाखौँ भक्तजन सहभागी हुने रथयात्रा केही वर्ष सामान्यरुपले मात्र निकालिएको थियो । तर, यसवर्ष भने नेपालसहित छिमेकी मुलुकहरुबाटसमेत लाखौँ भक्तजनको सहभागीतामा हर्षोउल्लासका साथ रथयात्रा निकालिने तयारी गरिएको छ ।
यसपटक निकालिने ५५ औँ संस्करणको रथयात्रामा चुस्तदुरुस्त सुरक्षाका लागि आयोजक समितिले प्र्रहरी प्रशासनसँग समन्वय गरेको छ । विगतमा पाँच लाख बढी भक्तजन सहभागी हुने रथयात्रामा यसपटक त्यसभन्दा बढी पुग्ने राथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले हाम्रो विराटनगरलाई बताए यसपटकको रथयात्रा विषेश हुने अध्यक्ष रेग्मीले बताए । उनका अनुसार रथयात्रामा देशभरका विभिन्न स्थानीयतहका मेयर र उपमेयरसहित विशिष्ट व्यक्तित्वहरु रथयात्रामा सहभागी हुन विराटनगर आइपुगेका छन् ।
विराटनगर तीनपैनी स्थित राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा पौने ९ किलोमिटर नगरपारिक्रमा गरि पुनः मन्दिरमै पुगेर सम्पन्न हुनेछ । मन्दिरबाट निस्केर मेनरोड हुँदै तिनपैनी चोक, गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, रोडशेष, जनआन्दोलन चोक (महेन्द्र चोक), शनिमन्दिर, विजुली अफिस, मुनालपथ, बरगाछी र दुर्गा चोक हुँदै मन्दिर पुगेर रथयात्रा सम्पन्न हुने अध्यक्ष रेग्मीको भनाई छ । यो रुटमा ४३ पटक रथ रोकिने बताइएको छ ।
श्रीराधाकृष्ण मन्दिर परिसरबाट विक्रमसम्बत १९८८ सालमा शुरु भएको खटयात्रालाई स्थानिय भूपालमानसिंह कार्की र सत्यनारायण धनावत सहितका समाजसेवी र धार्मिक व्यक्तित्वहरुले २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरेका थिए ।
त्यसअघि भगवान श्रीराधाकृष्णको मुर्तिलाई खटमा राखी कांधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो । खटयात्रालाई रथयात्रामा रुपान्तरण गरिएयता परम्रागत शैलीको आधुनिक रथमा भगवान श्रीराधाकृष्णको मुर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।
प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट,चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथयात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था सुदृढ बनाइने प्रशासनले जनाएको छ ।