मेसीबिनै बोलिभियाविरुद्ध अर्जेन्टिनाको सहज जित

काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रिएको विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा बोलिभियाविरुद्ध ३–० को सहज जित निकालेको छ । बोलिभियाको घरेलु मैदान स्टाडियो हर्नान्डो सिलेसमा सम्पन्न खेलमा अर्जेन्टिनालाई सहज जित दिलाउन एन्जो फर्नान्डेज, निकोलस ट्याग्लियाफिगो र निकोलस गोन्जालेसले समान एक गोल गरे ।

खेलको ३१औं मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा बोलिभियाका रोबर्टो फर्नान्डेजले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि घरेलु टिमले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो ।

४२औं मिनेटमा ट्याग्लियाफिगोले पाहुना टिमको अग्रता दोब्बर पारे । यस्तै, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई ३–० मा पूर्याएका थिए ।

योसँगै अर्जेन्टिनाले आफ्नो शतप्रतिशत जित यात्रालाई १२ खेलसम्म लम्ब्याएको छ । अर्जेन्टिनाले पछिल्लो पटक सन् २०२२ मा कतारमा सम्पन्न फिफा विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को हार बेहोरेको थियो ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो जित निकालेको अर्जेन्टिना ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिनाले छनोटको पहिलो खेलमा कोलम्बियाविरुद्ध १–० को कठिन जित निकालेको थियो ।

Share post:

Recent