नेम्वाङलाई सम्झिँदै ओलीले भने– अझै पत्यार लागेको छैन, देशले असल नेता गुमायो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङको निधन भएको अझै पत्यार नलागेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित ‘सुवास र संविधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ । अझै पत्यार नभएको जस्तो स्थिति भएको छ ।”

उनले राति निधनको खबर आउँदा नपात्याएको बताए । नेम्वाङको निधनबाट एमालेले असाधारण क्षति बेहोरेको उनले बताए । सिंगो देशले नै असल नेता गुमाएको उनको भनाइ छ । उनले देश बनाउन नेम्वाङले गरेको भूमिका सकारात्मक भएको बताए ।

“सुवासजीले देशलाई जस्तो बनाउन प्रयास गर्नुभएको थियो । सकारात्मक प्रयास गर्नुभएको थियो । त्यो प्रयास अघि बढाउँदा उहाँप्रतिको श्रद्धाञ्जली हुने छ,” उनले भने ।

नेम्वाङले देश, जनतालाई केन्द्रित राखेर गरेको राजनीतिबाट अरूले सिक्नुपर्ने उनले बताए । मिठो बोल्ने नेम्वाङले कहिले पनि स्वार्थी कदम नचालेको ओलीको भनाइ छ ।

“देशभक्त हुनुहुन्थ्यो । कहिले पनि स्वार्थी कदम चाल्नुभएन,” ओलीले भने ।

नेम्वाङ आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने व्यक्ति भएको उनको भनाइ छ ।

“सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्ति हो, मनदेखि आदरभाव उर्लिएर आउँछ । आधारभूत गुणमा कहीँ खोट नभएको व्यक्ति,” उनले भने, “ उहाँले अवसर पाउँदा, जिम्मेवारी पाउँदा कुशलताका साथ सफलतामा पुर्‍याउनुभयो ।”

ओलीले नेम्वाङ सभामुखका लागि त्यतिबेला योग्य व्यक्ति भएको बताए ।

Share post:

Recent