काठमाडौं । नागोर्नो–काराबाखमा चर्किएको द्वन्द्वमा सयभन्दा बढी मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएको बताइएको छ ।
अजरबैजानले यस क्षेत्रका अर्मेनियाली पृथकतावादी लडाकुविरुद्ध दोस्रो दिन पनि सैन्य आक्रमण जारी राख्दा द्वन्द्व चर्किएको हो ।
आक्रमणमा आर्मेनियाली सुरक्षा बलका सैन्य सुविधाहरू ध्वस्त भएको बताइएको छ । नागोर्नो–काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानी क्षेत्रको मान्यता दिइएको छ ।
तर, यो क्षेत्रलाई पृथकतावादी जातीय आर्मेनियाली अधिकारीले नियन्त्रण गरेका छन् र उनीहरूले यसलाई आफ्नो ‘होमल्यान्ड’ भन्ने गरेका छन् । आर्मेनियालीहरूले यो क्षेत्रलाई आर्टसख भन्ने गरेका छन् ।
सन् १९१७ मा रूसी साम्राज्यको पतन भएपछि अजरबैजान र आर्मेनिया दुवैले यो क्षेत्रमा आफ्नो दाबी गरेका थिए र त्यसयता तनाव जारी छ ।
बढी जसो क्रिस्चियन रहेका अर्मेनियालीहरूले यहाँ आफ्नो लामो ऐतिहासिक प्रभुत्व दाबी गर्छन् । प्रायः मुस्लिम जनसंख्या रहेको अजरबैजानले पनि आफ्नो ऐतिहासिक पहिचान नागोर्नो–काराबाख क्षेत्रसँग जोड्ने गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानसँग वार्ता गरेको र तत्काल सैन्य गतिविधि बन्द गर्न आग्रह गरेको बताइएको छ ।
यस्तै, रुसको विदेश मन्त्रालयले पनि द्वन्द्वरत पक्षलाई तुरुन्त रक्तपात रोक्न, शत्रुता बन्द गर्न र सर्वसाधारणको हताहत नगर्न आग्रह गरेको छ । यसअघि नागोर्नो–काराबाखमा सन् २०२० मा भएको युद्ध रोक्न रुसको मध्यस्थता युद्धविराम भएको थियो ।