बारामा काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका-२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निजगढ-८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवि चौधरी, १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने घाइते छन्| यस्तै जितपुर सिमरा उपमहानगर-१६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर-९ का ७ वर्षीय किसान पोखरेल घाइते छन्।उनीहरूको एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।