शिक्षक आन्दोलनका कारण दुई दिनदेखि पठनपाठन ठप्प

सिमकोट- शिक्षक आन्दोलनका कारण जिल्लाका सात वटा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द भएको छ।शिक्षक महासंघको राष्ट्रब्यापी आन्दोललाई समर्थन गर्दै शिक्षकहरू आन्दोलनमा सहभागी हुँदा विद्यालयमा पठनपाठन ठप्प भएको हो।

मानसरोवर नमुना माध्यमिक विद्यालय प्रधानाध्यापक अमरबहादुर शाहीले जिल्ला भरिका सबै विद्यालयहरुमा पठनपाठन बन्द भएको बताए। शिक्षक महासंघले संसदमा प्रस्तुत भएको शिक्षा ऐनको विरोध गर्दै देशभर आन्दोलन गर्ने र विद्यालय बन्द गर्ने निर्णय गरेको कारण जिल्लाका विद्यालयहरू बन्द भएका हुन्।

बिहीबारदेखि शिक्षकहरू गाउँपालिका स्तरमा आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन्। शिक्षक महासंघले आयोजना गरेको विद्यालय बन्द कार्यक्रमलाई समर्थन गर्दै शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन्। सिमकोट गाउँपालिकाका २१ वटा सामुदायिक विद्यालय बन्द रहेका छन्। विद्यालय बन्द कार्यक्रम अनिश्चित कालिन रहेको उनले बताए । शिक्षा बिकास तथा समन्वय एकाईका प्रमुख भीमराज खत्रीले जिल्लाका १४५ वटा सामुदायिक विद्यालयहरूमा पठनपाठन बन्द भएको बताए।

गाउँपालिका अनुसार विद्यालयहरु नाम्खामा सत्र वटा विद्यालय रहेका छन भने खार्पुनाथमा १७, सर्केगार्डमा ३१, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोट गाउँपालिकामा १७ वटा विद्यालय रहेका छन्। यसबाट जिल्लाभर २१ हजार ६८ विद्यार्थीहरू मर्कामा परेका छन्। नाम्खा गाउँपालिकाले विद्यालयलाई पठनपाठन सुचारु राख्न परिपत्र गरेको भएपनि गाउँपालिकाका सत्र वटै विद्यालयमा पठनपाठन बन्द रहेका छन्।

नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीको सुनखानी आधारभुत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले सधै सुचारु रहने विद्यालय पनि बन्द रहेको बताए। उनले गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने परिपत्र गरेको भएपनि विद्यालय बन्द गरिएको बताए।

Share post:

Recent