धनगढी – सेती प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन २ महिना भित्र हस्तान्तरण गर्ने निर्माण ब्यबसायीले प्रतिबद्दता ब्यक्त गरेका छन्।
बिहिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र सामाजिक विकास मन्त्री झपट साउँदको टोलीले संयुक्तरुपमा प्रादेशीक अस्पतालको अनुगमन गरेको हो।
अनुगमन पछि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री,भौतिक पुर्बाधार बिकास मन्त्री सामाजिक मन्त्री, भवन कार्यालयका प्रमुख रमेश थिक, प्रमुख सचिब मुख्य मन्त्री कार्यालय र निर्माण कम्पनिका प्रतिनिधि सहितको छलफलमा निर्माण कम्पनिका प्रतिनिधिले अबको दुई महिना भित्र अस्पतालको नयाँ भवन हस्तान्तरण गर्ने प्रतिबद्दता जनाएका हुन्।
निर्माण भएको लामो समयसम्म पनि भवन हस्तान्तरण नहुदा अस्पतालको सेवा प्रभावित भईरहेको छ । हाल भवन अभावमा पुरानो भवनको ग्यालरीमै वेड लगाएर उपचार भईरहेको छ ।
मुख्यमन्त्री नेतृत्वको टोलीले बिहीबार अस्पतालको अनुगमन पश्चात् तत्काल प्रादेशिक अस्पतालको व्यापक सुधार गर्ने बताएका छन्।
सेती प्रादेशिक अस्पताललाई छिट्टै दुई सय शैयामा स्तर वृद्धि गरिने उनीहरूले बताएका छन् ।
प्रदेश सरकार गठन भएको ८ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीले बिहीबार पहिलोपटक एक साथ सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका हुन्।
अनुगमनको क्रममा सर्वसाधारणले सेतीमा उपचार पाउन निकै समस्या भोग्नुपरेको मुख्यमन्त्री र मन्त्रीहरूसँग गुनासो गरेका छन्।
सेतीमा दैनिक करिब १ हजार ५ जना बिरामी ओपिडीमा आउने गरेका छन् भने अस्पताल भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि उपलब्ध शय्या क्षमताभन्दा बढी हुने गरेको छ।
सङ्घीय सरकारबाट आफ्नो मातहतमा सेती अस्पताल ल्याएको दिनदेखि अस्पतालको क्षमता विकास गर्ने भन्दै आएको प्रदेश सरकारले २०७९ साउन २४ मा सेती अस्पताललाई दुई सय शय्यामा स्तर वृद्धि गर्ने निर्णय गरिसकेको छ।
यो पटक दुई सय शय्यामा अस्पतालको स्तरोन्नति गरेर सेवामा सुधार गर्ने सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताए । ‘हामी छिट्टै दुई सय शय्याको ओएनएम बनाएर सेवा विस्तार गर्ने छौँ, उनले भने, ‘यो पटक अस्पतालको सुधार गरेर सेवा प्रभावकारी बनाइनेछ।’