विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेड प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्टलगायतको सहभागितामा आयोजित लगानी सम्मेलनमा यस्तो प्रतिवद्धता सार्वजानिक गरिएको हो ।
चिया, माछा, अलैँची, अचारलगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरूलाई आवश्यक पर्ने थप लगानीका लागि २० करोड रुपैँया दिने प्रतिबद्धता कार्यक्रमस्थलमै घोषणा भएको थियो ।
आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको सम्मेलनमा सहभागी फन्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रबर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा आध्यन्त फन्डअन्तर्गत आठ महिनाको अवधिमा उद्यम प्रबर्द्धन गरिएका आठजना नवउद्यमीहरूले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराएका थिए ।