हाङझाउ, चीन। एशियाली खेलकुद प्रतियोगिता (एशियाड) नेपालको लागि दिनप्रति दिन चुनौंतिपूर्ण बन्दै जाँदा समेत नेपालले दुरदर्शि तरिकाले एशियाडको तयारी गर्न सकेको अवस्था छैन । यस्तो परिस्थितिमा एकाद एशियाड बाहेक अन्य एशियाड नेपालको लागि विर्सन लायक बनेका छन् । त्यो सम्बन्धित निकायले राम्रोसङ्ग बुझेको पनि छ, दुर्भाग्य, बुझपचाउन बाध्य छ। भारतको राजधानी दिल्लीमा आयोजना भएको पहिलो एशियाडमा नै सहभागिता जनाएर एशियाडमा बिकुल फुकेको नेपालले अहिलेसम्म एशियाडमा गर्व गर्न लायक प्रदर्शन गर्न नसकेको इतिहास हाम्रो सामु छ। एशियाडमा सहभागिताको लागि सहभागिता मात्रै जनाउँदै आएको नेपालको उपलब्धि भनेको पनि सहभागिता मात्रै बनेको छ । जस्ले एशियाडमा नेपालको उपस्थिति पदक जित्नुभन्दा पनि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने ‘प्लेट फर्म’ मात्रै बन्न पुगेको ।
एशियाली खेलकुदको १९ औं संस्करण असोज ६ गते शनिबार देखि चीन हाङझाउ शहरमा सञ्चालन हुँदैछ । विश्व खेलकुदमा दबदबा कायम गर्न सफल एशियाली राष्ट्रका महारथीहरुकोे सहभागिता रहने एशियाडमा नेपालले पनि सहभागिता जनाउँदै छ । १९ औं एशियाडमा नेपालले २९ खेलका २५३ जना खेलाडीलाई प्रतिस्पर्धामा उतारेको छ। जस्मा १२७ महिला र १२६ पुरुष खेलाडीहरुले आफ्नो कला कौशलको प्रदर्शन गर्ने छन्। जस्को नेतृत्व अर्थात् ‘सेभ द मिसन’को भूमिकामा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले गर्दैछन्। टोली नेता घिसिङ्गले नेतृत्व सम्हाल्ने क्रममा भनेका छन्, ‘हाम्रो प्रयास उत्कृष्ट प्रदर्शन गर्ने र सकारात्मक नतिजा ल्याउने हुनेछ ।’
एशियाडमा नेपालको प्रदर्शनको चर्चा गर्दा दुईवटा रजत र औंलामा गन्न सकिने केहि काँश्य पदकमै सिमित छ । एशियाडको १९औं संस्करणको आयोजना हुन लाग्दा समेत नेपालले अहिलेसम्म कुल १९ पदक जित्न सकेको छैन । जुन अप्रत्यारिलो लाग्न सक्ला तर सत्यता यहि हो । नेपालले जितेको दुई रजत पदकमध्य एउटा तेक्वान्दो खेलमा जिते पनि अर्को भने पर्यटकिय खेल प्याराग्लाइडिङ्गमा जितेको हो । विगतका दुई एशियाडको विश्लेषण गर्ने हो भने नेपालले सन् २०१४ को इन्चोन एशियाडमा करातेतर्फ एउटा काँश्य र सन् २०१८ को इन्डोनेशिया एशियाडमा प्याराग्लाइडिङ्गतर्फ रजत पदक जितेको थियो। जुन अफिसियल खेल भन्दा पनि पर्यटकिय खेलमा पदक जितेको थियो । यहि बाट पनि के अनुमान लगाउन सकिन्छ भने एशियाडमा हाम्रो खेलको स्तर कहाँ छ भनेर?
राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १९ औं एशियाली खेलकुदमा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गर्ने क्रममा भनेका थिए, ‘नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वस्त छु ।’ प्रधानमन्त्री दाहालको यो शुभकामना सन्देश र आत्मविश्वास आफैमा तारिफयोग्य छ । र पनि, नेपाली खेलाडीहरु जुन धरातलमा टेकेर एशियाडको यात्रामा निस्किएका छन्, त्यसको मर्मचाहिँ कहाली लाग्दो छ, जुन कुरो स्वयम प्रधानमन्त्रीले राम्रोसङ्ग बुझेका छ। चुनौंति नै चुनौंतिको पहाडलाई फोडेर त्यसमाथि विजयको झण्डा फहराउनु खेलाडीको लागि निकै चुनौंतिपूर्ण छ । यहि कुरालाई आत्मसात गर्दै प्रधानमन्त्रीले ‘उत्कृष्ट प्रदर्शन’को मात्रै कामना गरेका हुन सक्छन् । यो अभिव्यक्तिबाट के कुरा प्रस्ट हुन्छ भने १९औं एशियाडमा नेपाली खेलाडीले ‘उत्कृष्ट प्रदर्शन’ गर्नेछन्। नेपालले यसैमा चित्त बुझाउनु पर्नेछ। यस्तो अवस्थामा कागताली लागेर पदक जित्यो भने त्यो नेपालका लागि ठूलो उपलब्धिपूर्ण हुनेछ ।
वर्तमान अवस्थामा एशियाडमा पदक जित्न फलामकै चिउरा चपाउनु पर्छ । काँश्य पदक जित्न पनि वर्षौं वर्ष प्रशिक्षण गरेर पसिना बगाउनु र रगत सुकाउनु पर्छ । यस्तो अवस्थामा विना लक्ष्य केहि महिना गरिएको तयारी पदकमा ‘फलिभुत’ हुने देखिदैन । यस्तो अवस्थामा कसैले पदकको आशा गर्छ भने त्यो खेलाडीप्रति न्याय हुने देखिदैन । तसर्थ प्रधानमन्त्री दाहालले भने झैं १९ औं एशियाडमा खेलाडीहरुबाट उत्कृष्ट प्रदर्शनको विश्वास गर्न सकिन्छ । उत्कृष्ट प्रदर्शन गर्नबाट भने खेलाडीहरु चुक्नु हुँदैन । खेलाडीहरुको प्रदर्शन गर्व गर्न लायक हुनुपर्छ। यस्तोमा पदक प्राप्त भइहाल्यो भने त्यो सुनमा सुगन्ध हुने पक्का छ । एशियाडमा सहभागि सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना ।