९ असोज, काठमाडौं । मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका छन् ।
समिट एयरको यो जहाजमा चिकित्सकले मंगलबारका लागि १६ सिट बुक गरेको तर टिकट नकाटिएको अवस्था रहेको समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले जानकारी दिए ।
सोहीकारण सोमबार ५ वटा भीआईपी सिट यो उडानका लागि काटिएको उनले जानकारी दिए । मंगलबार ५ जना भीआईपी यात्रु र १३ जना चिकित्सकलाई समिटले पहिलो उडानबाट नेपालगञ्ज ल्याउन खोजेको थियो ।
तर, चिकित्सकले १६ जनाकै समूह एउटै उडानमा जानु पर्ने अडान राखेपछि अन्य यात्रुलाई लिएर समिटको जहाज उड्नु परेको कार्कीले जानकारी दिए ।
‘उहाँहरु हाम्रै उडानबाट मुगु जानु भएको हो, आजका लागि टिकट बुकिङ मात्र गर्नु भएको थियो, टिकट काट्नु भएको थिएन, त्यसकारण ५ वटा भीआईपी टिकट सोमबार नै काटिएको थियो,’ कार्कीले भने, पहिलो उडानमा ५ जना छुटे पनि हामी आजै अर्को उडानबाट थप यात्रुलाई नेपालगञ्ज ल्याउने योजनामा थियौं ।’ चिकित्सकको अर्घेल्याइँले नै उनीहरु मुगुमा बसेको कार्कीले बताए ।