बाराको नेपाल-भारत सिमानामा रहेको दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानको शव भेटिएको छ ।
पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेको हो ।
प्रहरीले हत्या आशङ्कामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहुल साह र सामलाल महतो रहेका छन् । घटनामा नेपालीसहित चारजनाको संलग्नता रहेको र अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार सशस्त्र प्रहरीको जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल चलाउनु भएको थियो । तर, केही समयअघिदेखि उहाँले रक्सी पसल बन्द गरेर गाउँमै खेतीपाती गर्दै आउनु भएको थियो ।