काठमाडौं । यस वर्षको दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो ।
नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने उनको भनाइ छ ।
“यो वर्षको दसैँमा नयाँ नोट सट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने व्यवस्था पनि गरिने छ । राष्ट्र बैंकको प्राथमिकता डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पनि हो,” उनले भने, “तर, क्यूआरबाहेक नोट लिएर आउनेलाई नयाँ नोट नदिने भन्ने चाहिँ हैन । नोट बोकेर आउनेलाई पनि हामीले नयाँ नोट उपलब्ध गराउँछौँ ।”
नोट साट्ने बैंक तथा वित्तीय संस्थालाई भने कस्तो व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको शाक्यले बताए । सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिने उनको भनाइ छ ।
त्यस्तै, यो वर्ष पनि सधैँ झैँ एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिने शाक्यको भनाइ छ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै प्रतिव्यक्ति उपलब्ध गराइने शाक्यले बताए ।
तर, नयाँ नोट कहिलेदेखि सटही गर्ने भन्ने विषयमा अहिले नै निर्णय भइनसकेको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । उनका अनुसार राष्ट्र बैंक अहिले यस विषयमा आन्तरिक छलफलमा जुटेको छ ।