त्रियुगाका तत्कालीन मेयर चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा उनीहरुले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार रहेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन्, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख चौधरीले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख चौधरीसँग चुहावट गरेको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

यस्तै, त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग पनि चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

 

Share post:

Recent