२० वर्षदेखि सोडापानीको भरमा चलाइरहेका छन् जीवन

युएन पार्क छेउमा सोडापानीको एउटा गाडा अडिएको छ। गाडाका साहु हुन् भक्तबहादुर थापा। उनी जामसँग बिरक्तिएका देखिन्थे। दिक्क मानेर गाडाछेउ बसिरहेका थिए।

‘व्यापार ठप्प जस्तै भएको तीन महिनाभन्दा बढी भयो। अहिले त आन्दोलन भन्छन्, जाम भएपछि व्यापारै हुँदैन,’ उनले भने, ‘एक क्रेट पनि बेच्न सकिएन।’

मकवानपुर सिस्नेरीका भक्तबहादुर ५३ वर्षका भए। उनले सोडापानी बेच्न थालेकै बीस वर्ष भयो। व्यापार थाल्दा उनले सिसीको पाँच रूपैयाँमा बेच्थे। अहिले सिसीको ६० रूपैयाँमा बिक्री गर्छन्।

‘सुरूमा त ठेला ठेल्न कम्ता लाज हुन्थेन, अहिले लाज सबै पच्यो,’ उनी केहीबेर हाँसिरहे।

भक्तबहादुर ठेलामा सोडापानी बेचेरै गुजारा चलाउँछन्। यही व्यापारबाट उनले छोराछोरी पनि पढाए। उनका दुई छोरी र एक छोरा हुन्। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी र छोरालाई उनले आफ्नो खुट्टामा आफैं टेक्नेसम्म बनाइदिएको बताउँछन्।

‘छोरीले फार्मेसी पढेर लाइसेन्स निकालिसकी। छोराले ल्याब पढिसक्यो। जे होस् टेको लगाइदिएको छु,’ छोराछोरीबाट सन्तुष्ट भएको भन्दै उनी हाँसे।

दुवै छोराछोरीले अहिले कमाउन थालिसकेका छन्। तर पनि भक्तबहादुरले मेहनत गर्न छाडेका छैनन्।

उनका अनुसार अहिले व्यापार गरेर पैसा बचाउन सक्ने अवस्था छैन। दिनभर मेहनत गर्दा खान-बस्न भने पुग्छ।

‘खटेपछि अलिअलि त हुन्छ। व्यापार त कोरोनादेखि नै हो घटेको,’ उनले भने।

भक्तबहादुरले कोरोनाअघि राम्रो व्यापार हुँदा महिनामा ५० हजार रूपैयाँसम्म कमाउँथे। अहिले महिनामा बीस-तीस हजार रूपैयाँको बिक्री हुन पनि मुस्किल हुने उनले बताए। कहिले त व्यापारै हुँदैन। कहिलेकाहीँ दिनको एक हजारसम्मको पनि व्यापार हुन्छ।

भक्तबहादुरले बीस वर्षअघि ललितपुरको ग्वार्कोबाट सोडापानी व्यापार सुरू गरेका हुन्। महिनामा ६ हजार रूपैयाँसम्म कमाउँथे। त्यो बेला जागिरेहरूको भन्दा आफ्नो कमाइ धेरै भएको उनी सुनाउँछन्।

‘एउटा सिसी दुई रूपैयाँमा ल्याउँथेँ। कागती, बिरेनुन, आइस राखेर पाँच रूपैयाँमा बेच्थेँ,’ उनले भने, ‘सबै हिसाब गर्दा एक बोतलमा दुई रूपैयाँ फाइदा हुन्थ्यो। सय बोतल बेच्यो भने दुई सय रूपैयाँ फाइदा आउँथ्यो।’

ग्वार्कोमा व्यापार गर्दागर्दै छेउको सडक फराकिलो हुने भयो। चक्रपथ विस्तारपछि उनले सोडापानीको गाडा राख्ने ठाउँ सडकमै बिलायो। केही समय त उनी रनभुल्ल भए। फेरि व्यापार गर्ने अर्को ठाउँ खोज्दै हिँड्न थाले।

उनले च्यासलमा एउटा ठाउँ पाए। च्यासलको झोलुंगे पुल नजिकै उनको गाडा अट्यो। मान्छेहरूको राम्रो चहलपहल हुने ठाउँ थियो। एकदमै राम्रो व्यापार हुन्थ्यो।

अझै धेरै समयसम्म पनि व्यापार ठप्प भइराख्यो भने ठेला थन्क्याएर गाउँ फर्किने योजना उनको छ।

‘अलि बिक्री हुने ठाउँमा राख्न महानगरले दिँदैन। यस्तै हो भने त काठमाडौंमा कसरी टिक्नु! केही छोइसाध्य छैन,’ उनले भने, ‘टिक्न नसके त गाउँ नै जानुपर्ला

Share post:

Recent