पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् ।
आन्दोलनमा सहभागी डाक्टरहरूले सहकर्मीमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने माग गरिरहेका छन् । पीडित डाक्टर अथवा कुनै पनि स्वास्थ्य कर्मीलाई क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने पनि माग गरिरहेका छन् ।
आन्दोलनरत डाक्टरहरूले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? लगायत प्लेकार्ड बोकेका थिए ।
लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहित भीडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।