नेपाली कांग्रेसले स्थापना दिवस मनाउँदै

नयाँ आवाज
१२ माघ २०८० १२:०५

१२ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ ।

आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ ।

वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।

स्थापना दिवस मनाए लगत्तै नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइने छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।

केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानकै क्रममा १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अन्तिम दिन माघ २६ गते पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको