४ दिनपछि भेटियो कर्णालीमा हाम फालेका लोकेन्द्रको शव

नयाँ आवाज
१५ चैत २०८० १७:२९

काठमाडौं । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

सोमवार लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले मकालुखबरलाई जानकारी दिए ।

सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

धेरै पढिएको