एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई कम्पनीसहित २१ जनाविरुद्ध मुद्दा

नयाँ आवाज
१५ चैत २०८० १७:३३

१५ चैत, काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

यस्तै प्राधिकरणका योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

यस्तै दूरसञ्‍चार प्राधिकरणका स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, अनुगमन महाशाखाका निर्देशक विजय कुमार राय, ग्रामीण दूरसञ्चार विकास शाखाका उप-निर्देशक बिनोद चन्द्र श्रेष्ठ, अनुमतिपत्र शर्त अनुगमन शाखाका उपनिर्देशक सूर्य प्रसाद लामिछाने, फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका सहायक निर्देशकद्वय प्रतिक्षा पौडेल र निराजन कोइरालाविरूद्ध  मुद्धा दायर गरेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।

विशेष अदालतमा दायर मुद्दामा उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

के हो विवाद ?

सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेट वक्तव्यमा भन्सारबाट चोरी भई नेपालमा ल्याउने मोवाइल सेटको प्रयोग निरुत्साहित गर्न एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । १ साउन २०७२ देखि प्रणाली कार्यान्वयन गर्न तयारी भएको थियो, तर विभिन्न कारण ढिला भई २०७५ मा मात्रै प्रक्रिया अघि बढेको थियो ।

एमडीएमएस खरिदकै लागि प्राधिकरणले छुट्टै विनियम बनाएको थियो, जसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको छानबिन समितिले विवादास्पद भन्यो । करिब ६ महिनामा सम्पन्न हुनुपर्ने काम अहिलेसम्म हुन नसकेको भनी छानबिन समितिले संलग्नहरुमाथि चरम लापरबाही गरेको र गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।



प्रतिक्रिया

धेरै पढिएको