२११ औँ भानु जयन्तीको दिन ग्लोबल गोरखा समाजले वक्तृत्वकला प्रतियोगिता गर्ने, थाल्यो तयारी

नयाँ आवाज
२९ जेठ २०८१ १७:३८

 काठमाण्डौँ । २११ औँ भानु जयन्तीको अवसरमा ग्लोबल गोरखा समाजले जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय विभूतिहरुको सम्झना र सम्मानका लागि आसन्न भानु जयन्तीका दिन उक्त कार्यक्रमको आयोजना गर्ने समाजका महासचिव तथा वक्तृत्वकला कार्यक्रम संयोजक विराट खनालले जानकारी दिए ।

आगामी अषाढ २९ गते भानु जयन्ती परेको छ । सो दिन समाजले ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिसकेको छ । प्रतियोगितामा गोरखाका ११ वटै पालिकाभित्रका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा प्रत्यक पालिकाका सामुदायिक विद्यालयबाट अन्तर मावि (कक्षा १२) सम्मका दुई/दुई जना प्रतियोगी छनोट भई आउने महासचिव खनाल बताउँछन् ।

‘पालिकाबाट छनौट भई आउने २ जना प्रतियोगी मध्य एक जना छात्रा अनिवार्य हुनु पर्ने व्यबस्था गरेका छौँ । प्रतियोगी विद्यार्थी छनोटको मापदण्ड तथा जिम्मेवारी हामीले पालिकाको शिक्षा शाखालाई नै दिने गरि पत्रचार गर्ने तयारी गरेका छौँ’, खनालले भने । कार्यक्रम भानु जयन्ती (आषाढ २९ गते) बिहान ११ बजे देखि गोरखा सदरमुकामको होटल मिराकलमा सुरु हुनेछ । कार्यक्रम सफल पार्नका लागि समाजले एक समिती पनि गठन गरेको संस्थाका अध्यक्ष गोकर्ण ढकाल बताउँछन् ।

उनका अनुसार यदु लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समिती गठन गरिएको छ । जसको सदस्यमा विनोद पोखरेल, ईन्द्र राज भट्टराई, शरण श्रेष्ठ, सुरेश श्रेष्ठ रहेका छन् । प्रतियोगितामा सहभागी भई प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार नगद तथा प्रमाण पत्र, मेडल तथा शिल्ड पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । यस्तै, सान्त्वना पुरस्कार २ जनालाई दश हजार नगद रकम प्रमाण पत्र, मेडल तथा शिल्ड प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिनेछ । संस्थाले कार्यक्रममा सहभागी हुने सबैलाई यातायात खर्चको पनि व्यबस्था गर्ने जनाएको छ ।



प्रतिक्रिया

धेरै पढिएको